विराटनगर- सिटिजन्स बैंकमा करिब पाँच करोड रुपैयाँ हिनामिना भएको तथ्य सार्वजनिक भएको छ। 

बैंकको विराटनगरस्थित कञ्चनबारी शाखामा ४ करोड ९१ लाख रुपैयाँ  हिनामिना भएको पाइएको हो । 

कर्मचारीहरूकै मिलेमतोमा ४ करोड ९१ लाख रुपैयाँ अनियमितता भएको तथ्य सार्वजनिक भएपछि बैंकले घटनामा संलग्न रहेका मुख्य आरोपीसहित ५ जना कर्मचारीलाई निलम्बन गरिसकेको छ।

बैंक प्रशासनले संलग्न कर्मचारीहरूलाई निलम्बन गरी कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको थियो । 

बैंकका कर्मचारीहरूले सर्वसाधारणले मुद्दति निक्षेपमा राखेको रकमलाई धितो मानी नक्कली कर्जा फाइल खडा गरेर रकम निकालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घोटाला प्रकरणमा कञ्चनबारी शाखाकी अपरेसन इन्चार्ज रोजी कणेलसहित लाई ४ जना कर्मचारीलाई मुख्य आरोपी बनाइएको छ ।

कणेलले आफूले एक्लै यो कार्य गरेको स्वीकार गरिसकेकी छिन् भने हिनामिना भएको रकम फिर्ता गर्ने सर्तमा आफ्नो एउटा सम्पत्ति (जग्गा) बैंकको नाममा दिइसकेकी छिन् । 

प्रहरीले थप अनुसन्धानका लागि बैंकसंग सबै कर्मचारीको विस्तृत विवरण मागेर प्रक्रिया अघि बढाएको छ ।