चीनले अनुदानमा दिएको कोरोनाविरुद्ध भेरोसिल खोप आजबाट देशभर लगाइँदै
काठमाडौं - चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप भेरोसिल आजबाट देशभर विभिन्न उमेर समूहलाई लगाउन सुरु गरिँदै छ ।
चीनले हालै अनुदानमा १० लाख डोज भेरोसेल खोप उपलब्ध गराएपछि सरकारले मंगलबारबाट खोप अभियान सञ्चालन गर्न लागेको हो । उक्त भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसलाई पहिलो मात्रा लगाउन लागिएको हो।
हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइनेछ । हिमाली क्षेत्रमा पटक–पटक खोप पु-याउन गाह्रो हुने भएकाले १८ वर्ष माथिकालाई नै खोप लगाउने तयारी भएको हो । हिमाली जिल्लामा यसअघि ५२ वर्षमाथि उमेरसमूहका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।
काठमाडौं महानगरपालिकाले पनि मङ्गलबारदेखि ३२ वटै वडामा कोरोनाविरुद्धको खोप केन्द्र सञ्चालन गरी खोपको पहिलो मात्रा दिने तयारी गरेको छ । महानगरपालिकाको सहरी स्वास्थ्य विभागका अनुसार २९ गतेसम्म चल्ने खोप अभियानमा हरेक दिन फरक फरक उमेर समूहका व्यक्तिलाई खोप दिइने छ । कार्यतालिका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहकालाई मात्रै खोप दिइनेछ । त्यसपछि जेठको क्रमशः २६ गते ६३, २७ गते ६२, २८ गते ६१ र २९ गते ६० वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिने कार्यक्रम छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस