काठमाडौं - नेपालले एसीसी महिला यू–१९ प्रिमियर कपमा नेपालले सिङ्गापुरलाई १५१ रनले पराजित गरेको छ । आइतबार मलेसियाको यूएसडी यूकेएम ओभलमा नेपालले सिंगापुरलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । 

जितसँगै सूमह ‘डी’को नेपालले चार अंक जोडेको छ । दुवै खेलमा पराजित सिंगापुर अंकविहीन छ ।

नेपालले प्रस्तुत गरेको २०० रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाएर ४८ रन मात्र बनाउन सक्यो । 

सिंगापुरका लागि अंकिता वर्षा राजले सर्वाधिक १९ रनको योगदान गरिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

नेपालका लागि बलिङतर्फ अनुकडायतले सर्वाधिक ३ विकेट लिइन् । मनिषा उपाध्याय र रिया शर्माले २/२ विकेट लिँदा सोनी पाख्रिनले १ विकेट लिइन्।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा कुनै पनि विकेट नगुमाइ १९९ रनको योगफल तयार पारेको थियो । त्यसअघि ब्याटिङ गरेको नेपालका लागि नेपालका ओपनरद्वय साना प्रविण र सावित्री धामीले पहिलो विकेटका लागि १९९ रनको साझेदारी बनाएर खेले ।

नेपालका लागि साना प्रविणले ७० बलमा १३ चौकासहित ९८ रनमा अविजित रहिन्। अर्की ओपनर सावित्री धामीले ५३ बलमा समान १३ चौका सहित ७८ रन बनाउँदै अविजित रहिन्।‌

नेपालले पहिलो खेलमा कतारलाई १०५ रनले हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।