हेटौँडा - वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले  आजदेखि प्रदेश राजधानी हेटौँडाबाटै कोरोना भाइरस परीक्षण हुने बताएका छन् । आइतबार मन्त्री दुलालले हेटौँडाको किटजन्यरोग अनुसन्धान केन्द्र (भिभीडी आरटिसी) मा रहेको  प्रयोशालालाई व्यवस्थित बनाएर कोरोना भाइरसको परीक्षण गरिने बताए ।

यही स्वाब सङ्कलन गरेर परीक्षण गर्ने र सङ्क्रमित पाइएमा उपचारका लागि व्यवस्था गरिने बताइएको छ ।  मन्त्री दुलालले प्रदेश नं २ का विभिन्न जिल्लालाई पायक पर्ने गरी हेटौँडामा प्रयोगशाला सञ्चालन गरिएको बताए ।

सङ्क्रमितलाई राख्नका लागि प्रदेश सरकारले आइसीयूसहितको ३०० आइसोलेसन कक्ष निर्माण गरेको बताए । मन्त्री दुलालले सबै आइसोलेसन कक्षमा सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

प्रदेशमा भएका १३ मध्ये काठमाडौँबाहेक सबै जिल्लामा आइसोलेसन कक्ष तयार पारेको उहाँले बताउनुभयो । नुवाकोटमा १०, रसुवामा २०, धादिङमा सात, चितवनको भरतपुर अस्पतालमा २० र गुञ्जनगरमा २० श्ययाको आइसोलेसन कक्ष निर्माण छ ।

मकवानपुरमा सघन उपचारकक्षसहित ३५ श्यया आइसोलेसन तयार भइसकेको र ७० श्यया तयार हुँदै गरेको, सिन्धुलीमा पाँच श्यया तयार भएको र पाँच तयार हुँदै गरेको, रामेछापमा निजी क्षेत्रसँगको साझेदारीमा २० श्यया तयार भएको, दोलखामा १७ श्यया, सिन्धुपाल्चोकमा १७ श्यया, भक्तपुरमा २१, काभ्रेमा २० श्यया तयार भएको छ ।

प्रदेशअन्तर्गतका अस्पतालमा इन्फ्रारेड थर्मोमिटर तुरुन्तै खरिद गरी स्वास्थ्य निर्देशनालयमार्फत पहिलै पठाइसकिएको तथा प्रदेशस्तरीय ¥यापिड रेस्पोन्स टिम, उच्चस्तरीय अनुगमन समिति निर्माण गरी अनुगमन एवं विभिन्न प्रचारप्रसार, सूचना सञ्चारका गतिविधिको सञ्चालन भइरहेको  बताइएको छ ।