काठमाडौं  - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।

शुक्रबार दुई अध्यक्षबीच बालुवाटारमा झन्डै दुई घन्टा कुराकानी भएको स्रोतले बताएको छ । ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । दुई अध्यक्षबीच १३ गते बस्ने स्थायी समिति बैठकका विषयमा छलफल भएको स्रोतको दाबी छ ।

जारी स्थायी समिति बैठकमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै ओलीको राजीनामा मागेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री ओलीले भने तत्काल दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याउँदै आएका छन् । दुवै पक्षको अडानकै कारण लामो समयदेखि नेकपा विवादको निष्कर्ष निस्कन सकेको छैन ।

पटकपटक स्थगित हुँदै आएको नेकपा स्थायी समिति बैठक साउन १३ गतेका लागि बोलाइएको छ।