काठमाडौं - सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाहा गर्ने सरकारको निर्णयविरूद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले कारण देखाउ आदेश जारी गरेको हो। सर्वोच्चले सात दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश दिएको छ।

रिगलविरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो। उनलाई अदालतले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए।

तर, रिगलले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उनले न्यायको लागि बुधबारबाट अनशन समेत सुरु गरेकी छिन्।