काठमाडौं - मैलुङ खोला जलविद्युत् कम्पनीले निष्कासन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज कम्पनीको आईपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये दुई हजार ८४३ जनाको आवेदन रद्द भएको छ भने बाँकी २० लाख ६५ हजार १२४ जनाको आवेदन स्वीकृत भएको छ । उनीहरुमा ६ जनाले थप एक कित्ता अर्थात् कुल ११ कित्ता सेयर प्राप्त गरेका छन् । योग्य आवेदकमध्ये १९ लाख ९९ हजार ४९३ जना आवेदक भने सेयरबाट बञ्चित बनेका छन् । 

कम्पनीले साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । सर्वसाधारणका लागि छुट्याईएको प्रतिकित्ता रू. १०० अंकित दरको रू. ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओमध्ये ६ लाख ८४ हजार ७४६ कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । कुल कित्तामध्येबाट २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको थियो ।