राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता आज, बादल हच्किएपछि एमालेमा अन्योल
काठमाडौं - राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।
जेठ ६ गते तोकिएको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि आज दलहरूले उम्मेदवारको मनोनयन गर्नुपर्नेछ । निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । म्मेदवारको नामावली आजै प्रकाशन गर्ने तयारी छ ।
राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्नका लागि कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ । उम्मेदवार बन्न एकजना प्रस्तावक र एकजना समर्थक अनिवार्य हुनुपर्नेछ । उम्मेदवारले धरौटीवापत १० हजार रुपैयाँ शुल्क समेत बुझाउनुपर्नेछ ।
नेकपा माओवादी केन्द्रको तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन भएका रामबहादुर थापा बादल एकिकृत नेकपा खारेज भएसँगै एमालेमा प्रवेश गरेका थिए । त्यसपछि उनलाई माओवादीले पदमुक्त गरेको थियो ।
हाल उक्त रिक्त स्थानमा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने भएका छन् । एमालेले पनि बादललाई नै उम्मेदवार बनाउने तयारी गरेको छ तर, बादल चुनाव लड्न हच्किएका छन् । बादललाई उम्मेदवार बनाउँदै गर्दा वागमती प्रदेशमा एमालेलाई चुनौती दिने भोट विपक्षी गठबन्धनसँग थिएन । यही कारणले बादल चुनाव जितिनेमा ढुक्क थिए तर, विपक्षीमा एमालेकै देवकोटालाई साझा उम्मेदवार बनाउने भएपछि बादल अल्मलिएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस