फोहोर व्यवस्थापन प्रभावकारी
काठमाडौं – कोरोना भाइरसविरुद्ध गरिएको लकडाउनको समयमा पनि उपत्यकाको फोहोर व्यवस्थापन प्रभावकारी रूपमा भइरहेको छ । फोहोर सङ्कलन र व्यवस्थापन नियमित रूपमा गरिरहेको स्थानीय तहले बताएका छन् । शुक्रबार लकडाउनको १८औँ दिन हो ।
लकडाउन भएपछि स्थानीयवासीले सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्न दिएका थिएन । अहिले सिसडोलमा अवरोध हटेपछि काठमाडौँ र ललितपुर महानगरपालिकाको फोहोर ल्यान्डफिल साइट लगिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिका वातावरण शाखाका प्रमुख हरिकुमार श्रेष्ठले काठमाडौँ महानगरपालिकाबाट दैनिक उठ्ने फोहोरको मात्रा अहिले घटेको बताए । उनका अनुसार यसअघि साधारण अवस्थामा दैनिक चार सय ट्रकसम्म फोहोर ल्यान्डफिल साइट लगिन्थ्यो । लकडाउनको समयमा भने घरायसी फोहोर मात्र सङ्कलन र व्यवस्थापन गर्नुपर्ने भएकाले फोहोरको परिमाण घटेको बताए । अहिले काठमाडौँ महानगरपालिकाले १२० देखि १२५ ट्रक फोहोरमैला ल्यान्डफिल साइट पु¥याइरहेको प्रमुख श्रेष्ठले बताए ।
फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि मास्क, पञ्जा र बुट जस्ता सामग्री उपयुक्त तरिकाले प्रयोग गर्न सचेत गराइएको उनले बताए ।
बजारमै अभावका कारण व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) भने सबै सफाइ कर्मचारीलाई दिन नसकेको उनले जानकारी दिए । उनले सबै सफाइ कर्मचारीलाई पीपीई वितरण गर्ने प्रयास गरिरहेका छौँ । विभिन्न ठाउँबाट प्राप्त एक सय थान पीपीई भने वितरण गरिसकेको जानकारी दिए ।पीपीई नभए पनि नगरपालिकाले बर्सेनि वितरण गर्ने मास्क, पञ्जा र बुट नियमित प्रयोग गर्न प्रोत्साहन गरिरहेको बताए ।
उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने स्थान नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइट वरपरका स्थानीयवासीलाई पनि मास्क, पञ्जा, सेनिटाइजर तथा सफाइ सामग्री र ज्वरो जाँच्ने उपकरण चाँडै वितरण गरिने वातावरण विभाग प्रमुख श्रेष्ठले बताए ।
त्यस्तै उनले काठमाडौँ महानगरपालिकाले सरसफाइ कर्मचारीको दैनिक थर्मल ज्वरो जाँच र स्वास्थ्य निगरानी गरिरहेको बताए ।
ललितपुर महानगरपालिकाको पनि फोहोरमैला सहज तरिकाले सङ्कलन र व्यवस्थापन भइरहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । महानगरपालिकाले दैनिक रूपमा घरायसी फोहोरमैलाको सङ्कलन र व्यवस्थापन गर्दै आएको उनले बताए ।
महानगरपालिकाले सरसफाइ कर्मचारीको व्यक्तिगत स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध पनि गरिएको उहाँको भनाइ छ । उनले महानगरका झन्डै १५० जना फोहोरमैला व्यवस्थापनमा प्रत्यक्ष संलग्न कर्मचारीलाई पीपीई वितरण गरिसकेको जानकारी दिए । ललितपुर महानगरपालिकाको फोहोरमैला पनि सिसडोल ल्यान्डफिल साइटमा नै व्यवस्थापन गरिँदै आएको छ ।
भक्तपुर नगरपालिकाले भने पहिलेभन्दा पनि सङ्क्रमणको अवस्थामा सहर अझ सफा राख्नुपर्छ भनी सम्पूर्ण सफाइकर्मीलाई परिचालन गरिएको जनाएको छ । नगरपालिकाका सरसफाइ शाखा प्रमुख दिलीप सुवालले भक्तपुर नगरपालिकामा फोहोरमैला सङ्कलन र व्यवस्थापनमा निजी कम्पनीको संलग्नता छैन, त्यसैले लकडाउनको बेला पनि नगरपालिकाले आफ्ना सफाइ कर्मचारीलाई नियमित परिचालन गर्न सहज भएको छ भने।
उनले नगरपालिकाले लगभग १५० सरसफाइ कर्मचारीलाई मास्क, पञ्जा लगायत सामग्री दिएको जानकारी दिए । सफाइ कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि अहिले विशेष प्रकारको वान् पिस पोसाक पनि सिलाउँदै वितरण गरिरहेको प्रमुख सुवालले बताए ।
फोहोरमैला सङ्कलन गर्न जाने कर्मचारीले सुरक्षा सामग्रीको उचित प्रयोग गरे नगरेको विषयमा दैनिक वडा निरीक्षकबाट रिपोर्ट लिने गरिएको उनले जानकारी दिए । भक्तपुर नगरपालिकाले सामान्य दिनमा ३० टन फोहोरमैला सङ्कलन गर्ने गरेकोमा अहिले एक वा दुई टन मात्र कमी आएको प्रमुख सुवालले बताए ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस