आमाछोरालाई कसरी भयो कोरोना संक्रमण ?
काठमाडौं - कोरोना संक्रमणले दोस्रो चरणमा प्रवेश गरेको सरकारी घोषणाको एक सातापछि संक्रमितको संख्या बढ्न थालेको छ। काठमाडौंमा थप दुई जनामा संक्रमण देखिएसँगै जनजीवन त्रसित बन्न पुगेको छ। ८१ वर्षीया वृद्धा र उनका छोरासहित १६ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ।
संक्रमितमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकी १५ जना चार अस्पतालमा उपचाररत रहेको बताए। संक्रमित हुनेमा १९ वर्षीया किशोरीदेखि ८१ वर्षीया वृद्धासम्म छन्।
काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई जनाको उपचार भइरहेको छ। दुई जना ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत छन्। बागलुङस्थित धौलागिरि अस्पतालमा दुई जनाको उपचार भइरहेको छ। धनगढीस्थित सेती अञ्चल अस्पतालमा पाँच र वीरगन्जस्थित नारायणी अस्पतालमा चार जना उपचारका क्रममा रहेको डा. देवकोटाले बताए। उपचाररत संक्रमितको स्वास्थ्य स्थिति सामान्य छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ हजार ८ सय १९ वटा परीक्षण गरिएको छ।
मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार बेलायतबाट स्वदेश फर्केका ८१ वर्षीया वृद्धा र ५८ वर्षीय पुरुषमा मंगलबार कोरोना पोजिटिभ देखिएको हो। मंगलबार टेकुस्थित प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ। ‘दुवै जना बेलायतबाट नेपाल फर्किनुभएको हो। संक्रमितको विस्तृत विवरण तयार गर्ने क्रममा छौं’, डा. देवकोटाले भने।
उनीहरू चैत ५ गतेदेखि काठमाडौंको कागेश्वरी मनोहरा—९ स्थित सनसिटी अपार्टमेन्टको १५०१ नम्बर फ्ल्याटमा बस्दै आएका थिए। परिवारमा रहेका आमा, छोरा र बुहारी गरी तीनै जनाको सोमबार गरिएको र्यापिड डायग्नोस्टिक किट (आरडीटी) परीक्षणमा भाइरस पोजिटिभ देखिएको थियो। त्यसलगत्तै पाटन अस्पतालमा भर्ना गरिएको थियो। आरडीटी परीक्षणमा पोजिटिभ देखिएकी बुहारीको पनि रियल टाइम पोलिमर्स चेन रियाक्सन (आरटीपीसीआर) परीक्षण गरिएको छ। तर, उनको परीक्षणको नतिजा आइनसकेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए।
मन्त्रालयले गोपनीयता राख्नुपर्ने जनाउँदै कतार एयरवेजबाट काठमाडौंमा ओर्लिएका ती आमाछोराको नामसहितको परिचय सार्वजनिक गरेको छैन। उनीहरूसँगै ५६ वर्षीया बुहारी पनि स्वदेश आएकी थिइन्। नेपाल आएको २६ दिनपछि स्वास्थ्यमा समस्या आएको थियो। आरडीटी परीक्षणमा तीनै जनामा कोरोना पोजिटिभ देखिएपछि सबै जनालाई पाटन अस्पतालमा भर्ना गरिएको थियो। परिवारमा भाइरस पोजिटिभ देखिएपछि ट्रेसिङ कार्य सुरु भइसकेको डा. देवकोटाले बताए।
अन्नपूर्ण दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस