काठमाडौं - नेकपा माओवादी केन्द्रले सरकारले देशलाई बाह्य शक्तिको क्रीडास्थल बनाएको आरोप लगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिदैँ माओवादीले सरकार संसदीय मान्यताविपरीत अध्यादेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्दत भइरहेको बताएको छ । 

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले संविधानको ठाडो उल्लंघन गरी प्रतिगामी योजना अघि बढाइरहेको, लोकतान्त्रिक मूल्य मान्यता एवं राजनीतिक नैतिकताको धज्जी उडाउँदै राजनीतिलाई सत्ताको फोहोरी खेलको रुपमा निक्रिष्ट ढंगबाट सञ्चालन गरिरहेको, निर्वाचनमा जनताले दिएको जनादेशविपरीत सामाजिक न्यायसहितको समृद्धि एवं समाजवादको आधार निर्माण गर्ने लक्षलाई ध्वस्त बनाएको, नेपाली कम्युनिष्ट आन्दोलनलाई क्षत विक्षत बनाउने उद्देश्यका साथ विसर्जनवादी आक्रमण गरेको, कोरोनाको दोस्रो लहरसँग जुझ्ने सन्दर्भमा नालायकी एवं असक्षमता प्रदर्शन गरेको र राष्ट्रियताको मुद्धालाई सौदावाजीको बिषय बनाई देशलाई बाह्य शक्तिको क्रिडास्थल बनाउदै लगिरहेको तथा लोकतान्त्रिक र संसदीय मान्यताविपरीत अध्यादेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्धत हुँदै गइरहेको छ,’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रमा भनेका छन् ।

यस्तै, कोरोनाको दोस्रो लहरसँग जुझ्ने सन्दर्भमा सरकारले असक्षमता प्रदर्शन गरेको प्रचण्डको भनाई छ ।  माओवादीले ३८ महिनापछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। यससँगै सरकार अल्पमतमा परेको छ ।