अन्ततः प्राधिकरणमा फर्किए कुलमान घिसिङ
काठमाडौं - सरकारले अन्ततः कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।
मुलुकलाई लोडसेडिङ मुक्त गर्न प्रमुख भूमिका खेलेका घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो । स्रोतका अनुसार घिसिङले प्राधिकरणको कार्यकारी अधिकृतका रूपमा सम्भवतः बुधबार नै कार्यभार सम्हाल्दै छन् । तर, घिसिङलाई प्राधिकरणको नेतृत्व जिम्मा दिइएको पत्र भने दिइसकिएको छैन । सोमबारदेखिकाे मन्त्रिपरिषद् को निर्णय नै गोप्य राखिएको छ।
केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई प्राधिकरणमा ल्याउने तयारी थाल्न उर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका थिए। प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री भुसालले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेकी थिइन्। सोही प्रस्ताव अनुसार घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने सहमति भएको हो।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले चार वर्षे कार्यकाल पूरा गरेका घिसिङको पदावधि नथप्दा उनी प्राधिकरणबाट बाहिरिएका थिए। उनी प्राधिकरणबाट बाहिरिएलगत्तै तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका अर्थ निर्देशनालयका प्रमुख लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका थिए । त्यसपछि प्राधिकरणका कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको थियो ।
हाल कार्यकारी निर्देशक रहेका शाक्यलाई भने विशिष्ट श्रेणी पद सिर्जना गरेर जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । उनलाई सम्मानजनक रुपमा अहिले खाइपाई आएको सुविधामा नघट्ने गरी पूर्णकालीन रूपमा आयोगमा पदस्थापन गरिएको स्रोत बताउँछ । यसअघि शाक्यले पनि सरकारले उचित ढंगले अर्को जिम्मेवारी दिए स्वीकार गर्ने बताएका थिए ।
फेसबुक पेज Like गर्नुहोस