कोरोना संक्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी
काठमाडौं, बैतडी - जिल्लामा पहिलोपटक एक कोरोना संक्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइएको छ । दशरथचन्द नगरपालिका-४ की २१ वर्षीया महिलाले शनिबार राति जिल्ला अस्पताल बैतडीमा शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् ।
९ दिनअघि कोरोना पुष्टि भएकी ती महिला होम आइसोलेसनमै बसिरहेकी थिइन् । एक हप्ताअघि नै सुत्केरी हुने मिति रहेकामा सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याइएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । शुक्रबार राति अस्पताल भर्ना भएकी ती महिला सामान्य हिसाबले बच्चा नजन्मिएपछि शल्यक्रियामार्फत सुत्केरी गराइएको हो ।
उच्च स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर संक्रमित महिलाको शल्यक्रिया गरिएको जोशीको भनाइ छ । ती महिलाले पहिलो सन्तानका रुपमा छोरा जन्माएको अस्पतालले जनाएको छ । अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
यसैबीच कोरोना कहरबीच पनि जिल्ला अस्पतालमा प्रसुती सेवा प्रदान भइरहेको छ । अस्पतालमा कोरोनाका बिरामीको सङ्ख्या बढ्दै गएपछि आकस्मिक र प्रसुतिबाहेकका सबै सेवा बन्द गरिएको डाक्टर जोशीले बताए । बैतडीमा हाल ६०० बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस