काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्राथमिकता र गुणस्तर कमजोर हुँदा नागरिकमा असन्तुष्टि बढ्दै गएको बताएका छन् ।

शुक्रबार नेपाल आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले बजेटमा विभिन्न शीर्षकमा अबण्डा रकम राख्ने प्रवृत्तिले नागरिक असन्तुष्ट बनेको बताएका हुन् ।

उनले सार्वजनिक खर्चको उपयोगिता, सेवा प्रवाह सुधार र आर्थिक सुशासन आजका सबैभन्दा महत्त्वपूर्ण विषय भएको बताउँदै यसले नागरिकको दैनिकी, राज्यप्रतिको विश्वास र लोकतन्त्रको प्रभावकारितासँग प्रत्यक्ष सम्बन्ध राख्ने स्पष्ट पारे ।

मन्त्री सिन्हाले भने- ‘हरेक वर्षको बजेट विनियोजनमा विविध शीर्षकमा अबण्डा बजेट राखिएको देखिन्छ। योजना प्राथमिकता र परिणामबिनाको खर्चले न नागरिक सन्तुष्ट हुन्छन्, न त अर्थतन्त्र बलियो बन्छ ।’

सार्वजनिक खर्चमा सदुपयोग र आर्थिक सुशासन कायम हुन नसक्दा उत्पन्न असन्तुष्टिकै प्रतिफलका रूपमा भदौ २३ गतेको जेनजी आन्दोलन देखिएको आफूले महसुस गरेको मन्त्री सिन्हाको भनाइ थियो।