‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
काठमाडौं - सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमप्रति विभिन्न राजनीतिक दलका नेताहरूले मिश्रित प्रतिक्रिया जनाएका छन् ।
सत्तारुढ दलका नेताहरूले कार्यक्रम सकारात्मक भए पनि कार्यान्वयन चुनौतीपूर्ण भएको औँल्याएका छन् । विपक्षी दलका नेताहरूले भने धेरै कुरा समेट्न नसकेको र प्राथमिकीकरण समेत गर्न नसकेको टिप्पणी गरेका छन् ।
नीति तथा कार्यक्रमलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यान्वयन चुनौतीपूर्ण छ भने। उनले भने, ‘‘मुख्य कुरा कार्यान्वयन हो । अहिले कोरोना भाइरस (कोभिड–१९) का कारण जुन अवस्था परिस्थिति भएको छ यसले सबैतिर जटिलता पैदा गरेको छ । चुनौती पनि कार्यान्वयनकै छ । यो कार्यान्वयन गर्न सकियो भने राम्रो गति लिन्छ ।’’
प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रमलाई खण्डकाव्यको संज्ञा दिनुभएको छ । कार्यक्रमले प्राथमिकता तय गर्न नसकेको पनि टिप्पणी गर्नुहुँदै उनले भने, ‘‘खण्डकाव्य नै भने हुन्छ यति लामो कहिल्यै आएको छैन । धेरै कुरा पुराना छन् । धेरै कुरा समेटिएका छैनन् ।’’
यस्तै, पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले परम्परागत र वर्तमान चुनौती सम्बोधन गर्न नसक्ने ढङ्गबाट आएको बताउनुभयो । भट्टराईले कतिपय विषय सकारात्मक भए पनि कार्यान्वयन सहज नरहेको बताए।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले नीति कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरे। उनले भने, ‘‘नेपालको इतिहासमा सबैभन्दा लामो कर्मकाण्डी नीति कार्यक्रम देखियो । देश र जनता अहिले महामारीको सङ्कटमा छन् । जुन हिसाबले अर्थतन्त्र जोगाउने र जनता जोगाउनुपर्ने त्यो कुरो आएन । सङ्कट र जनताको आवश्यकता सम्बोधन गर्न सक्दैन ।’’
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस