काठमाडौं - कोरोना भाइरस (कोभिड–१९ ) महामारी नियन्त्रणका लागि नेपाल–भारत सीमा नाकामा सुरक्षाकर्मीको संख्या बढाइने भएको छ ।

गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा आइतवार मन्त्रालयमा बसेको सुरक्षा पदाधिकारीको बैठकले सो सम्बन्धि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको होनेपाल–भारत सीमा नाकामा रहेका एकहजार दुईसय १३ वटा सीमा सुरक्षा पोष्टमा २२ हजार सशस्त्र प्रहरी परिचालन गरिएको छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी नाकामा सुरक्षाकर्मीको संख्या ४३ हजार पु¥याइने भएको छ ।

गृह मन्त्रालयले सीमा नाकाबाट लुकिछिपि प्रवेश गर्नेक्रम नरोकिएको भन्दै त्यसरी प्रवेश गर्नेलाई कडा कानुनी कारवाही गर्नुपर्ने निश्कर्ष समेत निकालेको छ । त्यस्तैं भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न भारत सरकारसँग छलफल भइरहेको जनाएको छ ।

सीमा नाकामा रात र दिउँसोको गस्ती थप बढाउन तथा अवैध प्रवेशलाई निरुत्साहित गर्न सबै वडास्तरमा समुदायको सहयोगमा स्वयंसेवक परिचालन कमिटी गठन गर्न निर्देशन दिएको छ ।

सीमा तैनाथ हुने सुरक्षाकर्मीका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापनका लागि गृहमन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाइ सकेको जानकारी सो बैठकले दिएको छ ।

बैठकमा गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाको उच्चपदाधिकारीको सहभागिता थियो ।

गोरखापत्र दैनिकबाट