गृह मन्त्रालयले भन्यो: स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही हुन्छ
काठमाडौं - गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने जनाएको छ ।
शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले त्यस्तो गैरजिम्मेवार कार्यमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको जनाएको हो ।
‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो ।’ मन्त्रालयले जानकारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
बिहीबार राति नेपालगञ्जस्थित भेरी अस्पतालमा दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।
गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना सङ्क्रमित बिरामी अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रमण गरेका थिए ।
डा. चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात भएको थियो । घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परिसकेका छन् । बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ ।
घटनाको छानविनका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिति पनि बनाइएको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस