काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको गुट त्याग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले गुटकै कारण कांग्रेसले यसअघिको निर्वाचनमा पराजय भोग्नुपरेको तर्क गरे ।

पार्टीमा निष्ठावान, इमान्दार र प्रतिष्ठा भएका व्यक्तिहरु हुँदाहुँदै पनि कांग्रेसको छवि जनता बीचमा राम्रो नभएको उनको भनाइ छ । पौडेलले संविधान र गणतन्त्र ल्याउने नेतृत्व कांग्रेसले गर्ने तर कार्यान्वयन गर्ने बेला कम्युनिष्टको हातमा जानु बिडम्वना भएको पनि बताए ।

नेता पौडेलले आगामी महाधिवशेनलाई लोकतान्त्रिक मूल्यमान्यता अनुसार अघि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरु कांग्रेस प्रवेश गरेका थिए ।