काठमाडौं-मलेशियामा जारी एसीसी यु–१६ क्रिकेटमा नेपालले शानदार सुरुवात गरेको छ । नेपालले १३९ रनको लक्ष्य ३३।२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै पहिलो जित हात पारेको हो ।

नेपालका लागि प्रसिद्ध जैसीले ५५ रनको पारी खेलेका थिए भने रौनक श्रीवास्तवले ४० रन बनाएका थिए । जैसीले ९१ बलमा अद्र्धसतक पुरा गरेका थिए । उनी ५५ बलमा अविजित रहे ।

नेपालका अर्का ओपनर सुर्यान्सु कोइराला ब्याटिङका क्रममा घाइते भएर बाहिरिएका थिए । ९ रन बनाएर उनी मैदानबाट बाहिरिएपश्चात प्रसिद्धले तेस्रो नम्बरमा ब्याट्सम्यान रौनक श्रीवास्तवसँग बलियो साझेदारी गरे । आक्रामक ब्याटिङ गर्दै श्रीवास्तवले ४४ बलमा ४० रन जोडेका थिए । प्रसिद्ध र रौनकको साझेदारीले नै नेपाललाई जिततर्फ डोहोर्‍याएको थियो ।

यसअघि पहिले बलिङ गर्दै नेपालले सिंगापुरलाई १३८ रनमा रोकेको थियो । नेपाली टीमका कप्तान विपीनप्रसाद शर्माले ४ विकेट लिएपछि सिंगापुर कमजोर स्कोरमा समेटिएको हो ।

सिंगापुरका कप्तान रियान नाइकले उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतक बनाए । चौथो नम्बरमा आएका उनले ५३ बलमा ५३ रन जोड्दै टीमलाई अगाडि बढाएका थिए । ओपनर आहान भुथान्दमले विष्फोटक ब्याटिङ गर्दै ३२ बलमा ३८ रन जोडेका थिए ।

सिंगापुरले ६५ रन बनाउँदासम्म दुई विकेटमात्र गुमाएको थियो । तर, त्यसपछि नेपालका कप्तान शर्मा खेलमा हावी भए । उनले ३४ रनको खर्चमा ४ विकेट लिँदै सिंगापुरको ब्याटिङ धराशयी बनाएका थिए । सिंगापुरले थप ७० रन जोड्दा ८ विकेट गुमाएको थियो ।

नेपालका लागि सचित भट्टले ६ ओभरमा १८ रन खर्चेर दुई विकेट लिएका छन् । यस्तै अभय यादव र शुभम खनालले एक९एक विकेट बाँडे ।