काठमाडौं - संसद् विघटनको मुद्दामा मंगलबारबाट एमिकस क्युरीको बहस सुरु हुने भएको छ । सोमबार रिट निवेदकको जवाफी बहस सकिएसँगै मंगलबारबाट अदालतको सहयोगी (एमिकस क्युरी) को बहस सुरु हुने भएको हो ।

सर्वोच्च अदालतले संसद् विघटनको मुद्दामा नेपाल बार एशोसिएशनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना एमिकस क्युरी माग गरेको थियो । नेपाल बारले बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक एमिकस क्युरीको रुपमा चयन भएका छन् ।

एमिकस क्युरीले पक्ष/विपक्षमा नरही अदालतलाई राय दिनेछन् । एमिकस क्युरीको रायपछि फैसला आउनेछ ।

सोमबारको संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलासमा बस्ने न्यायाधीशहरुलाई इतिहास बनाउने अवसर भएको र यो अवसर नगुमाउन सुझाव दिएका थिए । सोमबारको जवाफी बहस गर्दै थापाले उक्त सुझाव दिएका हुन् । उनले संसद् प्रधानमन्त्रीको नोकर नहुने बताउँदै इजलासमा ‘इजलासमा बस्ने न्यायाधीशहरुलाई इतिहास बनाउने अवसर छ । यो अवसर नगुमाउनुस्,’ भनेका थिए ।