‘प्रतिगमन सच्चिएको छ, तर यो अन्तिम विजय होइन’
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमन अहिलेलाई परास्त भएको भएपनि अन्तिम विजयी नभएको बताएका छन् ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा माओवादी नेता रामवृक्ष यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने ‘प्रतिगमन अहिलेलाई परास्त भएको छ। संविधान लोकतन्त्र र राष्ट्रियताको रक्षागर्ने समाजवाद तिरको यात्रालाई निरन्तर अघि बढाउने प्रवृति अहिले फेरि विजयी भएको छ, तर यो अन्तिम विजय होइन ।’
यो लडाइँ लामो रहेको र लडाइँको निम्ति आफूलाई तयार गर्न जरुरी रहेको उनको भनाई छ ।
त्यस्तै, अध्यक्ष प्रचण्डले पार्टीको विचारलाई आत्मसमीक्षासहित क्रान्तिकारी रुपान्तरण नगरे कम्युनिस्ट आन्दोलन विसर्जन र विघटनको खतरा रहेको पनि बताएका छन् । ‘हामीले विचारलाई राम्रो गर्नसक्दा नेपालको कम्युनिस्ट र राजनीतिक आन्दोलन मात्र होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई पनि ठुलो योगदान गर्न सक्ने सम्भावना हाम्रो पार्टीसँग छ । तर त्यसो गर्न सकिएन भने विसर्जन र विघटन र भूमरीमा पर्नसक्ने खतरा छ’ उनले भने । त्यसको परास्तका लागि व्यक्तिवादी, गुटवादी स्वार्थबाट सबै नेता कार्यकर्ता माथि उठ्न आवश्यक रहेको अध्यक्ष प्रचण्डले बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस