जेनजी आन्दोलनबारे कांग्रेस कार्यसम्पादन समिति बैठकले गर्यो ५ निर्णय
काठमाडौं - नेपाली कांग्रेसले शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हालैको जेनजी आन्दोलन र त्यसपछिका घटनाबारे पाँच बुँदे निर्णय सार्वजनिक गरेको छ ।
बैठक पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बसेको हो ।
बैठकले भदौ २३ र २४ गते जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरेको छ। घाइतेहरूको उपचारमा थप गम्भीरता दिन र शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र डा. आरजु राणा देउवामाथि भएको आक्रमण र निवासमा गरिएको आगजनीप्रति बैठकले कडा शब्दमा निन्दा गरेको छ ।
त्यस्तै, राष्ट्रपति भवन, सिंहदरबार, ऐतिहासिक स्थल, शीर्ष नेताहरूका निवास, व्यावसायिक प्रतिष्ठान र पार्टी कार्यालयहरूमा भएको तोडफोड र आगजनीबाट खर्वौं मूल्य बराबरको क्षति भएकोप्रति गम्भीर ध्यानाकर्षण गर्दै उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरिएको छ।
बैठकले संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै संविधानकै दायराभित्र राजनीतिक निकास खोजिनुपर्ने निष्कर्ष निकालेको छ। संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम राख्न कांग्रेस नेतृत्वदायी भूमिकामा रहने प्रतिबद्धता जनाएको छ।
त्यसैगरी, भ्रष्टाचार नियन्त्रण, सुशासन प्रत्याभूति र सामाजिक सञ्जाल सहज बनाउनेजस्ता जेनजी पुस्ताले अघि सारेका मागलाई विधिवत् सम्बोधन गर्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ।
बैठकमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका नेताहरूले धारणा राख्दै वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संविधान र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण कांग्रेसको प्रमुख दायित्व रहेको बताएका थिए।
संविधान दिवसको अवसरमा जारी विज्ञप्तिमार्फत कांग्रेसले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै संयम, एकता र लोकतान्त्रिक मूल्यहरूमा विश्वास राख्न अपिल गरेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस