होम क्वारेन्टाइनमा बसेको २५ दिनपछि विनालक्षण कोरोना पुष्टि
काठमाडौं - सरकारले भारत तथा तेस्रो मुलुकबाट आउनेहरूलाई १४ दिन क्वारेन्टाइनमा बस्न अनिवार्य गरेको छ । कोरोना संक्रमण भए १४ दिनभित्र लक्षण देखिन्छ भन्ने मान्यताअनुसार यो मापदण्ड अपनाइएको हो ।
तर, काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई व्यक्तिको नतिजाले १४ दिनपछि पनि संक्रमण देखिन सक्ने पुष्टि गरिदिएको छ । अपार्टमेन्टमा बस्ने आमा–छोरालाई होम क्वारेन्टाइनमा बसेको २५ दिनपछि कोरोना पोजेटिभ देखिएको छ, त्यो पनि कुनै लक्षणविना ।
उनीहरू ४ चैतमा लन्डनबाट फर्किएका थिए । २५ दिनसम्म कुनै लक्षण नदेखिएपछि उनीहरू संक्रमण नभएकोमा ढुक्क थिए । तर, कागेश्वरी मनोहरा नगरपालिकाले उनीहरूसहित विदेशबाट आएकाहरूको तथ्यांक संकलन गरेर सोमबार मुलपानी स्वास्थ्य चौकीमा र्यापिड टेस्ट गरेको थियो । र्यापिड टेस्टमा आमा, छोरा र बुहारीको नतिजा पोजेटिभ आएको थियो । त्यसपछि तत्काल उनीहरूलाई पाटन अस्पतालमा भर्ना गरेर पिसिआर टेस्टका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थ्रोट स्वाब पठाइएको थियो ।
मंगलबार आएको नतिजा आमा–छोराको पोजेटिभ देखिएको छ, बुहारीको भने दोस्रोपटक पिसिआर परीक्षण गरेर मात्रै नतिजा सार्वजनिक गर्ने तयारी छ । संक्रमित आमा ८१ वर्षको र छोरा ५७ वर्षको रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२५ दिनपछि पनि पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएपछि स्वास्थ्य क्षेत्रका विज्ञहरू अनुत्तरित बनेका छन् । उनीहरूले १४ दिन क्वारेन्टाइन बसेर मात्रै संक्रमणबाट जोगिन नसक्ने निष्कर्ष निकालेका छन् ।
त्यस्तै, सरकारले सनसिटी अपार्टमेन्टमा बस्ने पाँच सय परिवारका सबैको नमुना संकलन थालेको छ । अपार्टमेन्टमा बस्ने सबैको नमुना संकलन थालिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनीहरूको सम्पर्कमा आएका व्यक्तिको खोजी पनि सुरु भएको बताए ।
नयाँ पत्रिका दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस