१४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै दायर गरेको मुद्दामा आज सुनुवाई हुँदैछ ।
१४ सांसदहरुलाई साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेको भए पनि पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै परेको मुद्दामा आज सुनुवाइ हुन लागेको हो ।
न्यायाधीशहरू दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा उक्त मुद्दाउपर सुनुवाइ हुन लागेको हो ।
एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामुखलाई दिएको थियो । तर, सभामुख अग्नि सापकोटाले सो कारबाहीको बारेमा सूचना टाँसेको थिएनन् । सचिवालयले सो सूचना टाँस नगरेपछि माधव नेपालले एमालेबाट विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिए । आयोगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिइसकेपछि मात्र संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने सूचना टाँसेको थियो ।
एमालेले सभामुखले पूर्वाग्रह राखेको भन्दै सदन अवरुद्ध गर्दै आएको छ । कानूनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले उनीहरुलाई सांसदको रुपमा संसदमा प्रवेश दिएको विरोधमा सदन अवरोध गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस