काठमाडौं - इरानका युवा तथा खेलकुदमन्त्री अहमद दुन्यामालीले देशको वर्तमान अवस्था हेर्दा इरानले २०२६ फिफा विश्वकपमा सहभागी हुन सक्ने स्थिति नरहेको बताएका छन् ।

विश्वकप जुन ११ बाट अमेरिका, क्यानडा र मेक्सिकोमा सुरु हुँदैछ । इरानले समूह चरणमा तीन खेल खेल्ने तालिका रहेको छ । टोलीले जुन १५ मा लस एन्जलसमा न्युजिल्याण्डसँग, जुन २१ मा बेल्जियमसँग र जुन २६ मा सियाटलमा इजिप्टसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका छ ।

तर, अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरी सर्वोच्च नेता अली खामेनीको हत्या गरेपछि इरानको विश्वकप सहभागिता अनिश्चित बनेको हो । त्यसको प्रतिक्रियास्वरूप इरानले इजरायल तथा अमेरिकी सैन्य आधार रहेका अन्य देशतर्फ मिसाइल र ड्रोन प्रहार गरेको थियो ।

आईआरआईबी स्पोर्ट्स नेटवर्कसँगको अन्तर्वार्तामा मन्त्री दुन्यामालीले भने, ‘यो भ्रष्ट सरकारले हाम्रो नेताको हत्या गरेको अवस्थामा हामीसँग विश्वकपमा सहभागी हुने कुनै पनि उपयुक्त अवस्था छैन । हाम्रा खेलाडी सुरक्षित छैनन् र प्रतियोगितामा सहभागी हुने वातावरण बनेको छैन ।’

उनले पछिल्लो आठ–नौ महिनामा दुई वटा युद्ध भएको र हजारौँ इरानी नागरिक मारिएको पनि बताए । ‘त्यसकारण विश्वकपमा सहभागी हुने सम्भावना हामीसँग छैन,’ उनले भने ।

यसअघि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट भएको जानकारी दिँदै इरानलाई विश्वकपमा सहभागी हुन अमेरिका स्वागत गर्न तयार रहेको बताएका थिए ।

इन्स्टाग्राममा इन्फान्टिनोले लेखेका थिए, ‘हामीलाई अहिले झन् बढी विश्वकपजस्तो कार्यक्रम चाहिएको छ जसले मानिसलाई एकताबद्ध बनाउँछ । फुटबलले विश्वलाई जोड्छ ।’

उता इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले पनि इरानको विश्वकप सहभागितामाथि प्रश्न उठाएका छन् । इरानको महिला राष्ट्रिय टोलीका छ सदस्यले सुरक्षाको चिन्ताका कारण अष्ट्रेलियाबाट ‘मानवीय भिसा’ पाएका थिए ।

एसियन कपबाट बाहिरिएपछि बाँकी इरानी खेलाडी मंगलबार अष्ट्रेलियाबाट स्वदेश फर्किएका छन् । अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कका अनुसार सात जनालाई शरण दिइएको थियो, तर एक खेलाडीले पछि आफ्नो निर्णय बदल्दै स्वदेश फर्कने निर्णय गरेकी थिइन् ।