काठमाडौं - राजधानीमा आइतबारदेखि ग्यासको अतिरिक्त बिक्री केन्द्र (आउटलेट) सञ्चालन हुँदै छ। नेपाल आयल निगमले एलपी ग्यास उद्योग संघको सहकार्यमा निम्न र मध्यम वर्गलाई राहत दिने उद्देश्यले अतिरिक्त बिक्री केन्द्र राख्न लागेको हो। २२ वटा ग्यास उद्योगले बिहान १० देखि ५ बजेसम्म ग्यास वितरण गर्नेछन्।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार कोरोना भाइरसको हल्लासँगै उपत्यकामा बसोबास गर्ने उच्च मध्यम वर्ग र उच्च वर्गले अत्यधिक संख्यामा खाना पकाउने ग्यासको सञ्चित गरेका छन्। यसले गर्दा निम्न वर्ग, अति निम्न वर्ग र मध्यम वर्ग समयमा सिलिन्डर पाउन सास्ती व्यहोर्न बाध्य छन्।

साबिकका डिपो, डिलर र बिक्री केन्द्र पनि पूर्ववत् सञ्चालनमा रहनेछन्।यस्ता आउटलेटबाट उपभोक्ताले खाली सिलिन्डर साटेर भरिएका सिलिन्डर तत्कालै प्राप्त गर्न सक्नेछन्। तर एकजना उपभोक्ताले एक थान मात्रै सिलिन्डर पाउने व्यवस्था गरिएको छ। निगमले प्रतिसिलिन्डर एक हजार तीन सय ७५ रुपैयाँ मूल्य तोकेको छ।

निगमका अनुसार शनिबार उपत्यका केन्द्रित ग्यास उद्योगका लागि ३८ बुलेट आयात भएको छ। सुनौली नाकामार्फत १९ वटा र रक्सौल नाकामार्फत १९ बुलेट भित्यारइएको छ।भैरहवा नाकामार्फत बाबाको एक, भानुको एक, एभरेस्टको तीन, गीताको एक, गौरीशंकरको एक, जानकीको दुई, साइबाबाको दुई, श्रीकृष्णको एक, नेपालको तीन, नेप गण्डकीको एक, श्रीको एक, श्रीरामको दुईवटा बुलेट भित्रिएका छन्। रक्सौल नाकामार्फत श्री साइबाबाका दुई, बाबाका सात, साइबाबाको एक, चण्डेश्वरीको एक, श्रीकृष्णका चार, एचपीको एक, त्रिवेणीको एक, गौरीशंकरको एक, राजधानीका दुई, नेपालको ६, राजधानीको चार, ओमको दुई, सिद्धार्थको एक र सूर्यको एक थान बुलेट भित्रिएको छ। 

अन्नपूर्ण दैनिकबाट