काठमाडौं - सर्वोच्च अदालतको पूर्ण न्यायाधीशहरुको बैठक (फुल कोर्ट) आज बस्दैछ । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कोरोनाबाट संकुचित सेवा विस्तारलगायतका विषयमा छलफलका लागि फुल कोर्ट बोलाएका हुन् । बैठकमा संवैधानिक इजलास गठन लगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधनलगायत विषयमा पनि छलफल हुनेछ । 

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासका विषयमा विवाद भएपछि सर्वोच्च अदालत बार एसोसिएसनले फुल कोर्ट बोलाउन प्रधानन्यायाधीश राणालाई सुझाव दिएको थियो । सर्वोच्च बारका पदाधिकारीहरुसँग बैठकमा राणाले फुल कोर्ट बोलाउने सहमति जनाएका थिए। 

प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश जबराले दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई समेटेर पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका थिए । जसमा श्रेष्ठ र केसीमाथि विपक्षी गठबन्धनका कानून वकिलले प्रश्न उठाएपछि विवाद बढेको थियो । त्यसपछि कार्की र भट्टराईले इजलासबाट अलग हुने बताएका थिए। 

मंगलबार बारका पदाधिकारीहरुसँग छलफल गरेर प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने बताउँदै २३ गते अर्को इजलास तोकेका छन् ।