गर्भाशय निकालेको आरोपमा गायक उदित नारायणविरूद्ध पूर्वपत्नीले विहारमा दिइन उजुरी
काठमाडौं - बलिउडका चर्चित गायक तथा नेपालीमूलका उदितनारायण झा र उनकी कान्छी पत्नी दीपा नारायणविरुद्ध जेठी पत्नी रञ्जना झाले गम्भीर आरोपसहित विहार प्रहरीमा उजुरी दर्ता गराएकी छन् ।
भारतीय सञ्चारमाध्यम अमरउजालाले फेब्रुअरी १० मा प्रकाशित समाचारअनुसार रञ्जनाले उदित नारायण र दीपा नारायणले आपराधिक षड्यन्त्र गरेर सन् १९९६ मा आफ्नो गर्भाशय निकालिएको दाबी गर्दै विहारको सुपौल जिल्लास्थित महिला थानामा मंगलबार उजुरी दिएकी हुन् ।
रञ्जनाले उजुरीमा सन् १९८४ डिसेम्बर ७ मा उदित नारायणसँग विवाह भएको उल्लेख गरेकी छन् । विवाहपछि सन् १९८५ मा आफू भारत गएको र त्यसपछि उदित नारायणले भारतमै बस्न थालेपछि गायिका दीपा गहतराजसँग दोस्रो विवाह गरेको दाबी गरेकी छन् ।
उजुरी दर्ताका क्रममा उनी अधिवक्ता करुणाकान्त झासँग महिला थानामा पुगेकी थिइन् । रञ्जनाको माइती सुपौल जिल्लाको बलुआ बजार थाना अन्तर्गत संस्कृत निर्मली वडा नम्बर ११ मा रहेको बताइएको छ । उनी त्यहाँका बासिन्दा चन्द्रकान्त झाकी ६१ वर्षीया छोरी हुन् ।
अमरउजालाका अनुसार उजुरीमा उदित नारायणका भाइहरू सञ्जयकुमार झा र ललितनारायण झालाई समेत प्रतिवादी बनाइएको छ ।
रञ्जनाले सन् १९९६ मा उदितका भाइ ललितले उपचारका लागि दिल्ली लगेर एक अस्पतालमा बिना जानकारी गर्भाशय निकालिएको आरोप लगाएकी छन् । साथै, सन् २००६ मा उदितलाई भेट्न दिल्ली जाँदा आफूलाई अपमानपूर्वक घरबाट निकालिएको समेत उनले बताएकी छन् ।
रञ्जनाले यसअघि भारतीय महिला आयोगमा पनि उदित नारायणविरुद्ध उजुरी दिएको र त्यस क्रममा उदितले आफूलाई पहिलो पत्नी स्वीकार गरे पनि त्यसअनुसार कुनै सम्मान र सुविधा नपाएको गुनासो गरेकी छन् ।
महिला थानाकी थानाध्यक्ष अञ्जु तिवारीले घटना करिब ३० वर्ष पुरानो भए पनि उजुरीको आधारमा पुराना तथ्यहरू समेत खोतलेर छानविन गरी आवश्यक कारवाही गरिने बताएकी छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस