काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले वर्षेनी अपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताएका छन् ।

सोमबार ६७ औँ प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विश्वमा नै वर्षेनी अपराधिक घटना बढिरहेको भन्दै यसको चुनौती नेपालमा पनि बढ्दै गएको बताएका हुन् । उनले विश्वमा अहिले नयाँ किसिमका विज्ञानका प्रविधिहरुको प्रयोग गरी अपराधिक गतिविधिहरु हुन थालेको बताए । विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर अपराधिक क्रियाकलापहरुको नियन्त्रण गर्न जरुरी रहेको उनले बताए ।

उनले नेपाल प्रहरीले पनि अपराधिक घटनालाई रोक्न विभिन्न विज्ञान, प्रविधिको प्रयोग गरिरहेको बताए । गृहमन्त्री खाँणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा सघाउन सरकार सदैव प्रतिवद्ध रहेको बताए । उनले नेपाल प्रहरीका जवानहरुको क्षमता विकास र सुविधा वृद्धिका लागि सरकारले प्रयत्न गरिरहेको पनि उल्लेख गरे ।

गृहमन्त्री खाँणले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा नेपाल प्रहरीको लागि प्रहरी प्रशिक्षण केन्द्र निर्माण कार्य भइरहेको बताए । उनले सोही तालिम केन्द्र निर्माण भएपछि अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रले नेपालका प्रहरीलाई उच्चस्तरीय तालिम नेपालमा नै उपलब्ध गराउन र क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

गृहमन्त्री खाँणले गत वर्ष सरकारले प्रहरी जवानहरुको क्षमता विकासका लागि वभिन्न कार्यक्रम, योजना अघि सारेको र त्यसले केही हदसम्म प्रहरी जवानको क्षमता विकासमा मदत पुगेको बताए ।