मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिँदै, दीपक मनाङ्गेले साथ नदिने संकेत
काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन् ।
गत बैशाख २६ गते विश्वासको मत छल्न मुख्यमन्त्री पदबाट राजीनामा दिएका गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभामा ठूलो दलको नेताको हैसियतमा वैशाख २९ मा पुनः मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री गुरुङले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैका लागि मुख्यमन्त्री गुरुङले आज प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने भएका हुन् ।
मुख्यमन्त्री गुरुङले प्रदेश सभामा विश्वासको मत पाउन चुनौती देखिएको छ । मुख्यमन्त्रीको पक्षमा रहेर युवा तथा खेलकुदमन्त्री बनिसकेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले बुधबार विपक्षी गठबन्धनलाई साथ दिने प्रष्ट संकेत गरेसँगै मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन देखिएको हो । उनी बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भए।
६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्रीको दल नेकपा एमालेसँग २७ सांसद छन् । प्रदेशसभामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाको ३, जनता समाजवादी पार्टीका २ सांसद छन् ।
फेसबुक पेज Like गर्नुहोस