काठमाडौं - सरकारले शासकीय स्वरुप सुधारका १०० कार्यसूची ल्याउने निर्णय गरेको छ ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ नेतृत्वको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सरकारले शनिबारसम्म शासकीय स्वरुप सुधारका लागि १०० कार्यसूची सार्वजनिक गर्नेछ ।

‘सरकारका शासकीय स्वरुप सुधारका १०० कार्यसूची भोलिसम्ममा सार्वजनिक गर्ने,’ उनले भने ।

सरकारले पहिलो बैठकबाटै शासकीय सुधार, प्रशासनिक सक्रियता र आयोगका प्रतिवेदन कार्यान्वयनलाई प्राथमिकतामा राख्ने निर्णय गरेसँगै शासनरप्रशासन तथा नागरिक स्तरमा सकारात्मक सन्देश प्रवाह भएको बताइएको छ ।

त्यस्तै आजको बैठकले यससँगै शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने, सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई तोक्ने र जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।