काठमाडौं - कैलाली जिल्ला कारागारमा शुक्रबार राति भएको भीषण झडपमा एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरूलाई आकस्मिक छलफलका लागि बोलाएका छन् ।

गृहमन्त्रीको सचिवालयका अनुसार, कारागारको नियन्त्रण कैदीबन्दीहरूले लिएको र सुरक्षा व्यवस्था अव्यवस्थित भएको संवेदनशील अवस्थाबारे छलफल गर्न बैठक आह्वान गरिएको हो । बैठक शनिबार बेलुका ४ बजे बस्नेछ ।

शुक्रबार राति कारागारमा भएको झडपमा धनगढी–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो । चौधरी लागुऔषधसम्बन्धी मुद्दामा थुनामा रहेका थिए।

घटनामा घाइते भएका ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ, जसमा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनापछि कैदीबन्दीहरूले भित्रबाट ताला लगाएर प्रवेशद्वारमा ग्याँस सिलिन्डर राखी, कोही प्रवेश गर्न खोजेमा विस्फोट गराउने धम्की दिएका छन् । यसले प्रहरी, प्रशासन र मानवअधिकार आयोगको टोलीलाई घटनास्थलमा पुग्न कठिनाइ भएको छ ।

यो घटनाले कैलालीका सिडियो गोगन बहादुर हमाल र एसपी बालनरसिंह राणाको कार्यक्षमतामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ । एसपी राणाले जिम्मेवारी सम्हाले यता कैलाली कारागारमा निरन्तर झडप हुने गरेको थियो ।

यो घटनापछि जिल्लाका सिडियो र एसपी दुवै जना विवादमा तानिएका छन् । उनीहरुलाई गृह मन्त्रालयले फिर्ता बोलाउन सक्ने सम्भावना बढेको छ ।