काठमाडौं - निर्वाचन आयोगबाट उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनका रुपन्देही २ का उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई आज हुँदैछ । 

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको ईजलासमा सो रिटको सुनुवाईका लागि पेशी तोकिएको हो । यस अघि शुक्रबार न्यायाधीश हरि फूँयालको ईजलासमा सो रिटको सुनुवाईका लागि पेशी तोकिएपछि रिटको सुनुवाई रोक्न निवेदन पक्षले नै माग गरेको थियो । 

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ निर्वाचन अधिकृतको कार्यालयले क्षेत्राधिकार मिचेर निर्णय गरेको भन्दै निर्णय खारेज र उम्मेदवारी कायम राख्न मागसहित गुरुङले बिहिबार सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए । 

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता गुरुङको बैंकिङ कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राति सूचना निकालेर उम्मेदवारी खारेज गरेको थियो ।

उक्त क्षेत्रका सहायक निर्वाचन अधिकृत घनश्याम गौतम गुरुङद्वारा जारी विज्ञप्तीमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १६ (ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएकाले निज उम्मेदवारको मनोनयन खारेज हुने उल्लेख गरिएको थियो ।