प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिम प्रदेशद्वारा मधेशलाई १६१ रनको लक्ष्य
काठमाडौं - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सुदुरपश्चिम प्रदेशले मधेश प्रदेशलाई १ सय ६१ रनको सामान्य चुनौती दिएको छ।
वीरगञ्जको नारायणी क्रिकेट ग्राउण्डमा मधेशले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदुरले ४३ ओभर २ बलमा संघर्ष गर्दै १ सय ६० रन बनायो। खराब सुरूवात गरेको सुदुरको इनिङ्सलाई कुनैपनि खेलाडीले सम्हाल्न सकेनन्। ५९ रन जोड्दा ३ विकेट गुमाउने क्रममा ओपनर राजु रिजाल ९ रनमा, खड्ग बोहरा ७ रनमा र अर्का ओपनर अभिषेक पाल ३३ रनमा आउट भए। अभिषेक नै सुदरको लागि सर्वाधिक रन जोड्ने खेलाडी बने। उनले ४५ बल खेलेर ५ चौका सहित ३३ रन बनाए।
यसपछि निरन्तर अन्तरालमा विकेट झरि नै रह्यो। किरण ठगुन्ना र नारायण जोशीले २३र२३ तथा अशोक धामी अविजित १९ रनमा रहे। चार खेलाडी बाहेक अन्यले दोहोरो रन छुन सकेनन्।
बलिङमा अरनिको यादवले ७ ओभर २ बलमा २ मेडन सहित २५ रन दिएर ३ विकेट लिए। प्रदीप पासवानले २ विकेट झारे।
यता जनकपुरको रामजानकी बहुउद्देश्यीय स्टेडियममा भइरहेको अर्को खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई १ सय ५२ रनको सहज लक्ष्य दिएको छ।
टर जितेर पहिले ब्याटिङ गरेको कर्णालीले मात्र ३९।१ ओभरमा सबै विकेट गुमाएर १ सय ५१ रन बनायो।
ब्याटिङमा कर्णाली निरिह बन्यो। ओपनर रविन्द्र शाही डक आउट हुँदा अरविन्द घर्ती ५ रनमा र सुनिल धमला १९ रनमा आउट भए। मात्र २७ रन जोड्दा पहिलो क्रमका ३ खेलाडी आउट भए।
त्यसपछि विपिन रावल र विपिन शाहीले चौथो विकेटका लागि ६५ रनको साझेदारी गर्दै टोलीलाई केहि राहत दिलाए। तर विपिन रावल ३२ रनमा आउट भएपछि विकेट पतनको सिलसिला रोकिएन जारी। विपिन शाहीले भने अर्धशतकीय पारी खेले। उनले ९८ बलको सामना गर्दै ८ चौका सहित टिमको लागि सर्वाधिक ६३ रनको योगदान दिए।
कप्तान दिवान पुनले १० रन बनाए। कर्णालीका ४ खेलाडी बाहेक अन्यले दोहोरो अंक रनको आँकडा समेत पार गर्न सकेनन्।
बलिङमा प्रेम कामतले उत्कृष्ट प्रदर्शन गरे। १० ओभरमा ३१ रन दिएर ४ , ज्ञानेन्द्र श्रेष्ठले ७ ओभरमा ३० रन खर्चेर ३ , सुजन थपलियाले २ विकेट लिए।
मंगलबार भएको पहिलो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई १ सय ७० रनको फराकिलो अन्तरमा हराएको थियो ।
दोस्रो खेलमा सानदार ब्याटिङसहित नेपाल पुलिस क्लबले अर्को विभागीय एपिएफ क्लबलाई १ सय ८५ रनले हराएको थियो ।
यसअघि सोमबार भएका खेलमा लुम्बिनी प्रदेशले कोशी र सुदूरपश्चिमले कर्णाली प्रदेश विरुद्ध प्रभावशाली जित निकालेका थिए।
चैत ७ गतेदेखि सुरु भएको खेल वर्षाका कारण रोकिएपछि लुम्बिनीविरुद्धको खेल वर्षाका कारण रोकिएपछि कर्णालीले १र१ अंक बाँडेको थियो।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात ७ प्रदेश गरी १० टोलीको सहभागीता रहेको छ।
प्रतियोगितामा लिग चरणपछि उपाधिका निम्ति दुई शीर्ष टोलीबीच प्रतिस्पर्धा हुने क्यानले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस