‘जबर्जस्ती राज्यसत्ता कब्जा गर्ने अभियान चलेको छ, अब धेरै दिन टिक्दैन’
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले जबरजस्ती राज्यसत्ता कब्जा गर्ने अभियान चलेको बताएका छन् ।
शनिबार काठमाडौँको बबरमहलमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषदको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान मिचेर राज्यसत्ता कब्जा भैरहेको बताएका हुन् । अब केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार घेरै दिन नचल्ने उनको दावी छ ।
‘अहिले जबरजस्ती राज्यसत्ता कब्जा गर्ने अभियान चलेको छ’ उनले भनेका छन्, ‘संविधान मिच्ने सरकार हटाइदिनु प-यो भन्ने आजको आवश्यकता हो । यो सरकार अब धेरै दिन चल्दैन । केही दिनभित्रै नयाँ सरकार बन्छ ।’ साँच्चै संविधानलाई मिचेर लोकतान्त्रिक मान्यतालाई कुल्चने र निरंकुश, स्वेच्छाचारी ढंगले नै जाने कोसिस भएमा छिट्टै नयाँ खालको संगठति विद्रोहमा जानुपर्ने अवस्था आउन सक्ने पनि उनले बताए ।
यस्तै, प्रचण्डले सरकारले छलछाम गर्दै सेटिङमार्फत् सर्वोच्च अदालतले आधिकारिकतालाई खारेज गरिदिएको पनि बताएका छन् । ७० प्रतिशत केन्द्रीय सदस्यबाट हटाइएको मान्छेलाई सर्वोच्चले बिचित्रको फैसला गरी प्रधानमन्त्रीमै राखिदिएको उनकाे भनाई छ ।
फेसबुक पेज Like गर्नुहोस