काठमाडौं - सीके राउत नेतृत्वको जनमत पार्टीले गर्दै आएको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले मौसम प्रतिकूलतका कारण आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गर्ने निर्णय गरेको हो ।

पार्टीका महासचिव चन्दन सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०७८ माघ २० गते रातीबाट नेपालमा आँधीबेरी, असिना र वर्षासहित मौसम अतिप्रतिकूलहुनआएको र यस्तो मौसम करीब एक सप्ताह लम्बिने पूर्वानुमान रहेकाले लोकमार्ग केन्द्रित कार्यक्रमको सट्टामा मौसमले साथ दिए अनुसार गाउँपालिका/नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्नहुन अनुरोध छ । त्यस अन्तर्गत किसानसँग अन्तरक्रिया तथा छलफल गर्ने र अरू पार्टी तथा संघसंगठनबाट समर्थन लिने खालका कार्यक्रमहरू गर्न हुन अनुरोध छ ।’

मौसममा सुधार भएपछि २०७८ फागुन १ देखि आन्दोलनको कार्यतालिका अर्को बैठकबाट निर्णय गर्ने विज्ञप्तिमा उल्लेख छ ।