बिमस्टेकको मन्त्रीस्तरीय बैठक आज बस्दै, म्यानमार घटनाको विषय उठ्नसक्ने
काठमाडौं - बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को १७औं मन्त्रीस्तरीय बैठक आज बस्दैछ ।
आज भर्चुअल माध्यमबाट हुने बिमस्टेक राष्ट्रहरूको मन्त्रीस्तरीय बैठक तथा अन्य एजेण्डामा बुधबार सम्पन्न उच्च अधिकारीहरूको बैठकले छलफल गरेको थियो ।
श्रीलङ्काले आयोजना गर्ने बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्नेछन् । बैठक अपराह्न ३ बजे बस्ने तय भएको छ ।
बिमस्टेकका सदस्य राष्ट्रहरूमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, श्रीलङ्का, म्यानमार र थाइल्यान्ड रहेका छन् । सन् २०१८ मा भएको बिमस्टेक शिखर सम्मेलनले बङ्गाल क्षेत्रका देशमा शान्ति र सामूहिक सहकार्यलाई जोड दिएको थियो । बिहीबार बस्ने मन्त्रीस्तरीय बैठकमा दिगो विकासका एजेन्डा सन् २०३० को लक्ष्य प्राप्तिका लागि सामूहिक सहकार्यमा जोड दिँदै यस क्षेत्रको गरिबी तथा अन्य समस्या निराकरणका लागि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ ।
साथै आजको बैठकमा म्यानमार भैरहेको सैनिक 'कू' को विषय उठ्ने सम्भावना रहेको पनि बताइएको छ । गत फेब्रुअरी १ मा आङ सान सू ची लगायत तत्कालीन सरकारका नेताहरूलाई अपदस्थ गरिनुका साथै उनीहरूलाई बन्दी बनाएर सेनाले सत्ता हातमा लिएपछि म्यान्मारमा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेका छन्। तर, सेनाले बल प्रयोग गर्दै पाँच सयभन्दा बढी प्रदर्शनकारीको ज्यान लिइसकेको छ ।
फेसबुक पेज Like गर्नुहोस