काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन जित र हारको विषय बनिरहेको बताएका छन् ।

मंगलबार राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको 'खेलकुदसँग प्रधानमन्त्री' अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जित र हारको ठूलो अर्थ बताउँदै त्यो विषयमा इगो बन्ने गरेको बताए ।

'खेलमा जित र हारको ठूलो अर्थ हुन्छ । जित र हारको विषय इगो पनि बन्छ । संसद विघटन पनि जित र हार विषय बनिरहेको छ ।', ओलीले भने, 'संसद भंग भइसक्यो। चुनाव आउन लागिसक्यो। केही मानिसहरू चुनाव हुन्न भनिरहेका छन्। केहीका लागि होइन। जिते भन्ने पार्नका लागि। चुनावै गएर जित्ने ठाउँ छ नि। तर यो फिर्ता गराउन पाए मेरो जित हुन्थ्यो भन्ने छ।'

ओलीले यसअघि नेपाल कहिल्यै उपनिवेश र कुनै युद्ध नहारेको भन्दै खेलकुदमा पनि हार्न नहुने बताएका छन् । 'अंग्रेजको लडाइँ खुकुरीले जित्ने नेपालीले खेलमा किन हार्नु परेको छ र ! फुटबलमा भकुन्डो हान्ने र क्रिकेटमा बलमा हान्ने त हो ।' ओलीले भने ।