काठमाडौं - नेकपा (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । 

केहीसमय अघिबाट भर्चुअल रूपमा बैठक जारी रहेको एक नेताले जानकारी दिए । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै  बैठक  भर्चुअल  रुपमा गरिएको हो । आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । खनाल-नेपाल पक्षमा पनि दुई धार देखिएको छ । दोस्रो तहका नेता एमालेमै बसेर अन्तरसंघर्ष गर्नुपर्ने पक्षमा छन् भने पुराना तथा तेस्रो, चौथो पुस्ताका नेता समूह छुटै पार्टी गठन गर्नुपर्ने पक्षमा देखिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले भने उक्त बैठक अवैधानिक र गैरकानूनी रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको थियो । आजै अपरान्ह ४ बजे ओली पक्षको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । 

विभाजनको अन्तिम संघारमा रहेको एमालेको दुवै पक्षले अडानबीच पार्टी विवाद बढ्दै गएपछि एकले अर्कोको निर्णय अस्वीकार गर्दै अगाडि बढिरहेका छन् । ओली पक्षले प्रतिनिधिसभा पुनःस्थापना र संविधानको धारा ७६ ९५० बमोजिम नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेपालसहित ११ जनालाई पार्टीबाट निकालिसकेको छ भने १२ सांसदमाथि स्पष्टिकरणसमेत सोधेको छ ।