काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले सुदूरपश्चिम प्रदेशमा समानान्तर कमिटी बनाउने भएको छ । 

नेता भीम रावलको नेतृत्वमा सोमबारदेखि धनगढीमा सुरु भएको खनाल नेपाल पक्षको प्रदेशस्तरीय विस्तारित बैठकले समानान्तर कमिटी बनाउने निष्कर्ष निकालेको हो । कमिटीको बैठक मंगलबार पनि जारी रहनेछ । बैठकबाट ९ वटै जिल्लामा जिल्ला बैठक राखी कमिटीहरू तयार गर्न निर्देशन जारी हुने स्रोतले बताएको छ । 

बैठकमा सुदूरपश्चिम प्रदेश सभाका २५ जना मध्ये १६ जना प्रदेश सभा सदस्यहरू उपस्थित रहेको बताइएको छ । 

गत फागुन २८ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि खनाल-नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्नुका साथै जिल्लाहरूमा समानान्तर कमिटी बनाउन सुरु गरेको हो । त्यसपछि अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव घनश्याम भुषाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।