काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने आफ्ना चार जना सांसदलाई स्पष्टीकरण सोधेको छ । 

मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरु विजय यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले सोमबार मन्त्री बनेर शपथ ग्रहण गरेपछि जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले विज्ञप्ति जारी गरी स्पष्टीकरण माग गरेका हुन् । 

चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।  सोमबार मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। तर, अविश्वास प्रस्ताव दर्ता गरेको केही समयमै जसपाका ४ जना नेताले मन्त्री बनेर शपथ ग्रहण गरेका थिए । 

पाण्डेलाई भौतिक भौतिक पूर्वाधार र कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने यादवलाई भूमि व्यवस्था, कृषि  तथा सहकारी मन्त्रालय र रायमाझीलाई भौतिक राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।