काठमाडौं - बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा थुनामा रहेका पूर्वमन्त्री एवं सांसद अफ्ताब आलमका फरार एक सहयोगी पक्राउ गरेका छन् ।

प्रदेश २ प्रहरी कार्यालयको विशेष टोलीले बारा सिम्रौनगढ नगरपालिका-४ का ५५ वर्षीय बद्री सहनीलाई पक्राउ गरेको हो । सहनीलाई शुक्रबार साँझ बौधीमाई नगरपालिका-७ स्थित नेपाल-भारत सीमाको बड्की बंकुल क्षेत्रबाट पक्राउ गरिएको हो ।

सहनीले आलमकै निर्देशनबमोजिम घाइते तथा मृतकलाई आगोमा हालेर जलाएको स्वीकार गरेको प्रहरीले जनाएको छ । सहनी सोही इँटाभट्टाका हेडमिस्त्री रहेको बताइएको छ।

२०६४ सालको पहिलो संविधानसभा चुनावको अघिल्लो दिन भएको बम विष्फोटको घटनाका घाइतेहरुलाई इँटाभट्टामा जलाएर हत्या गरेको र प्रमाणहरु नष्ट गरिएको थियो । सो विस्फोटमा तीन जनाको मृत्यु र करिब १६ जना घाइते भएका थिए।

सो घटनाका मुख्य योजनाकार आलम पुर्पक्षका लागि हाल कारागार चलान भएका छन्।