वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित
काठमाडौं - लामो समयको बहस र विवादपछि अन्ततः नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभामा मनोनित भएका छन् । गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा उनले गौतमलाई नियुक्त गरेकी राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् ।राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली भए पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले कुनै नियुक्ति गरेका थिएनन् । यसको पछाडि उनको चाहना र पार्टीको निर्णयको भिन्नता थियो ।
नेकपाका उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको लामो समयसम्म उक्त निर्णय अलपत्र परेको थियो । बुधबारमात्रै मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । यद्यपि, सरकारका प्रवक्ताले यसबारे सार्वजनिकरुपमा जानकारी नदिएपछि विहीबार बिहानभरी यसबारे फरक फरक समाचारहरु आइरहेका थिए ।
फेसबुक पेज Like गर्नुहोस