काठमाडौं - जिम्बावे ‘ए’विरुद्धको दोस्रो एकदिवसीयमा नेपालले सानदार जित हात पारेको छ । शनिबार टियु क्रिकेट मैदानमा नेपालले टेष्ट राष्ट्र जिम्बावेका अधिकांश खेलाडी समेटिएका ‘ए’ टोलीमाथि ९ विकेटको जित हात पारेको हो । 

जिम्बावेले दिएको ८८ रनको झिनो विजयी लक्ष्य नेपालले ११.२ ओभरमा पूरा गरेको हो । नेपालका लागि ओपनर सुनिल धमला ३८ रनमा आउट हुँदा तथा आशिफ शेख ३४ रनमा अविजित रहे । आजको खेलमा कुशल भुर्तेल रहे पनि ओपनरमा भने आएका थिएनन् । जिम्बावेका ब्राण्डन माभुताले एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रनमा समेटिएको थियो  । नेपालको धारिलो बलिङ सामू जिम्बावेका जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए भने ब्राड्ली इभान्सले २० रनमा अविजित रहे । अन्य खेलाडीले दोहोरो अंक जोड्नसमेत सकेनन् । 

जिम्बावेलाई सस्तैमा रोक्न नेपालका तीव्र गतिका बलर सोमपाल कामी र करण केसीले समान तीन विकेट लिए । यस्तै, कप्तान सन्दीप लामिछानेले २ विकेट तथा सागर ढकालको नाममा एक विकेट रह्यो । 

जितसँगै नेपालले तीन खेलको अभ्यास शृंखलामा बराबरी गरेको छ । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । अब तेस्रो तथा अन्तिम  एकदिवसीय खेल सोमबार हुनेछ । 

यसअघि जिम्बावे ‘ए’ र नेपालबीच भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो।  आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय श्रंखलाको तयारीस्वरुप नेपाले अहिले घरेलु मैदानमा जिम्बाबे एसँग अभ्यास गरिरहेको हो ।