काठमाडौं - नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आजदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ ।

केन्द्रीय बैंकले आज सूचना जारी गर्दै साविककै आकार तथा रङमा नयाँ नोट जारी गर्न लागिएको जनाएको हो । नोटमा राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलको दस्तखत छ ।

यस नयाँ नोटको संकेत नम्बर टर/४ ०००००१ देखि ण/३० ९९९९९९ सम्म रहेको छ । यसअघि २०७७ साल असार २२ गतेको सूचना अनुसार ५० रुपैयाँ दर (सिरिज २०१९) को बैंक नोट संकेत नम्बर ज/५९ ०००००१ देखि ट/३३ ९९९९९९ सम्म प्रचलनमा ल्याइने भनिएकोमा, उक्त सिरिजका संकेत नम्बर ज/५९ ०००००१ देखि ट/३३ ९००००० सम्म मात्र प्रचलनमा ल्याइएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

राष्ट्र बैंकले ‘नोट राष्ट्रको सम्पत्ति हो, यसको जतन गरौँ’ भन्ने सन्देशसहित सर्वसाधारणलाई नोटको जतन गरी प्रयोग गर्न आग्रह गरेको छ ।