काठमाडौं - काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ ।

उपत्यकामा कोरोनाभाइरस संक्रमणदर घटेपनि उल्लेखनीय मात्रामा नघटेकोले निषेधाज्ञा एक साता लम्ब्याउने तयारी गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए । यसका लागि उपत्यकाका तीन वटै जिल्लाका सिडिओहरूबीच मंगलबार दिउँसो ४ बजे छलफल हुने तय भएको छ। 

यसअघि उपत्यकामा थपिएको एक साता निषेधाज्ञा जेठ २० गते सकिँदैछ। सो निषेधाज्ञामा भने खाद्यान्न पसल समेत बन्द गर्ने निर्णय गरिएको थियो। त्योभन्दा अगाडि निषेधाज्ञा भए पनि खाद्यान्न पसललाई समेत बिहान ९ बजेसम्म खोल्न दिइएको थियो। तर खाद्यान्न पसल खोल्दा झन् भिडभाड भएको भन्दै त्यसलाई बन्द गर्ने निर्णय गरिएको थियो।

अब निषेधाज्ञालाई खुकुलो पारिने बताइएको छ । विज्ञहरुले संक्रमण दर घटेकाले असारबाट निषेधाज्ञा खुकुलो पार्न सकिने सुझाएपछि सोहीअनुसार निर्णय गर्न लागिएको निरौलाले जानकारी दिए ।