राजतन्त्र स्थापना हुने सम्भावना प्रवल रहेको राप्रपाको निष्कर्ष
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचारी र जेनजी आन्दोलनका दमनकारीलाई कडा कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको छ।
पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले जनविद्रोहमा बलिदान हुनेहरूको सम्मान गर्न भ्रष्टाचार र दमनकारी प्रवृत्तिमाथि तत्काल प्रहार गर्नुपर्ने धारणा व्यक्त गरेको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलनपछि सत्ता बाँडफाँडमा मात्रै केन्द्रित हुनुभन्दा भ्रष्टाचारको जरोमै प्रहार गर्नुपर्नेमा जोड दिए। “असफल भएको संविधानलाई आधार बनाएर देशलाई अघि बढाउने प्रयास मुलुकलाई असफलतामै धकेल्ने काम हो,” उनले भने।
लिङदेनले मुलुकलाई दीर्घकालीन द्वन्द्व, भूराजनीतिक चक्रव्यूह र वैदेशिक हस्तक्षेपबाट जोगाउन सबै राजनीतिक शक्तिबीच नयाँ समझदारी आवश्यक भएको उल्लेख गरे ।
अध्यक्ष लिङदेनले राजा आउने सम्भावना अत्यन्त प्रवल बनेको दाबी गरे । उनले जेनजी पुस्ताले गरेको आन्दोलन राजा ल्याउनका लागि नभइ भ्रष्टाचार र बेथितिका विरुद्ध भएको पनि बताए ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “जेनजीको ठूलो विद्रोह र बलिदानपछि आन्दोलनका नेतृत्वकर्ताहरूले फगत एकथान सरकार निर्माणमा हतार गर्नुको बदला भ्रष्टाचारको जरोमै प्रहार गर्नुपर्ने थियो।”
राप्रपाले लामो समयदेखि वर्तमान नेतृत्व र व्यवस्था असफल भइसकेको भन्दै हालको जनविद्रोहले त्यसलाई थप पुष्टि गरेको निष्कर्ष निकालेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस