काठमाडौं - कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानले प्राङ्गारिक मलमा जोड दिएर रासायनिक मलको प्रयोग कम गर्नुपर्ने बताएका छन्। 

बिहीवार खाद्यका लागि कृषि अभियानले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली, प्राङ्गारिक कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय कृषि नीति २०६१, एकीकृत कृषि ऐन तर्जुमा सम्बन्धमा गराएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री सिंहले सो कुरा बताएका हुन्।

रासायनिक मलका कारण बढी मात्रामा विदेशमा पैसा बाहिरिएको भन्दै नागरिकमा प्राङ्गारिक मलको प्रयोगको बारेमा सचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ छ। उनले भने, ‘रासायनिक मलमाथि नै किसान झुन्डिरहेका छन्, प्राङ्गारिक मलको प्रयोगको बारेमा हामीले जानकारी गराउन आवश्यक छ। प्राङ्गारिक मलको प्रयोग गर्ने हो भने पनि विदेशी मुद्रा सञ्चिति बढ्छ।’

मन्त्री यादवले सरकारले अहिले कृषिमा गरिरहेको लगानीले आवश्यकतालाई परिपूर्ति गर्न नसक्ने उल्लेख गरे। उनले नेपाल कृषि प्रधान देश र धेरैजसो नागरिक कृषिमा आश्रित रहे पनि सरकारले कृषि क्षेत्रको प्रवर्द्धन र विकासका लागि आवश्यक लगानी गर्न नसकेको बताए।

यसैबीच खाद्यका लागि कृषि अभियानले संविधानले व्यवस्था गरेअनुसार नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुतासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्ने कुरामा खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ आउनु अनिवार्य रहेको बताएको छ। ऐनमा भएका कतिपय व्यवस्थालाई कार्यान्वयन गर्ने सम्बन्धमा नियमावली नहुँदा अप्ठेरो भइरहेको भन्दै नियमावली तत्काल लागू गर्न पनि अभियानले माग गरेको छ।