काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले माघ २८ गते काठमाडौँमा गर्ने बृहत प्रदर्शनको तयारी तीव्र पारेको छ ।

नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार उक्त सभा भृकुटीमण्डपमा नै हुने भएको छ । सो पक्षले बुधबार बिहान ११ बजे पाँच ठाउँबाट जुलुस निकाल्ने छ। जसमा पुल्चोक, माइतीघरमण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने रुट तय भएको छ ।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल र रघुजी पन्तलगायतले गर्नेछन्। यस्तै, त्रिपुरेश्वरबाट निस्कने जुलुस अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल र जनार्दन शर्मा लगायतले गर्नेछन् भने माइतीघरबाट निस्कने जुलुसमा अमृतकुमार बोहरा, गिरिराजमणि पोखरेल लगायत नेताहरु सहभागी हुने भएका छन् ।

केशरमहलबाट सुरु हुने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेत लगायत केन्द्रीय नेताहरुले गर्नेछन् भने जमलबाट निकाल्ने जुलुसमा लिलामणि पोखेल, केन्द्रीय कमिटी सदस्यहरु रहनेछन् । मुल जुलुस भने सुनधाराबाट सुरु हुनेछ ।

उक्त जुलुस राजधानीको बिभिन्न स्थान हुँदै काठमाडौंको प्रदर्शनी मार्ग पुगेर सभा स्थलमा परिणत हुनेछ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदमका साथ संसद् विघटन गरेपछि सो पक्ष आन्दोलनरत छ ।

Prachanda-Nepal-rally-route.jpg