काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली खुमलटार पुगेका छन् ।

पछिल्लोसमय नेकपाभित्र देखिएको विवाद समाधानका लागि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञवालीलाई शुक्रबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पठाएको स्रोतले बताएको छ ।

ज्ञवालीले अध्यक्ष प्रचण्डसँग डेढ घण्टा छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ । छलफलमा ज्ञवालीले मिलेर अघि बढ्नुको विकल्प नभएको कुरालाई जोड दिएका थिए भने प्रचण्डले पार्टी निर्णय उल्लंघन गरिरहेकोमा असन्तुष्टि जनाएका थिए ।

हाल दुई अध्यक्षबीच भेटघाट र संवाद बन्द छ । मन्त्रिपरिषद् हेरफेर, कर्णाली विवाद, भारतीय जासुसी संस्था रिसर्च एन्ड एनालाइसिस विङका प्रमुख सामन्त कुमार गोयलको नेपाल आगमनलगायतका विषयमा विवाद देखिएको छ । यसअघि प्रधानमन्त्री ओलीले महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेललाई पनि खुमलटार पठाएका थिए।